धनकुटा । तेस्रो खुवाफोक गोल्डकपको सम्पूर्ण तयारी पुरा भएको छ । भोलि वैशाख २५ गतेदेखि साँगुरीगढी गाउँपालिका वडा नं. ३ स्थित खुवाफोक खेलमैदानमा प्रतियोगिता सुरु हुँदैछ ।
प्रतियोगितालाई भव्य रुपमा सञ्चालन गर्न आवश्यक तयारी पुरा भएको आयोजक खुवाफोक खेलकुद विकास समितिका अध्यक्ष सुमन लिम्बूले बताए । उनका अनुसार खेल हेर्न आउने दर्शकहरुका लागि वाँसको अस्थायी प्याराफिट निर्माण गरिएको छ । अस्थायी प्याराफिट करिव ५ सय जना दर्शक हट्ने क्षमताको रहेको अध्यक्ष लिम्बूले बताए ।
उद्घाटन खेलमा मोरङको कुसुमे साइनिङ क्लव र धरानको अलस्टार क्लव वीच प्रतिस्पर्धा हुनेछ । कुसुमे साइनिङ क्लव अघिल्लो संस्करणको विजेता समेत हो । उद्घाटन खेल वैशाख २५ गते दिउँसो १ बजे हुनेछ । त्यस्तै सोही दिन दोस्रो खेल संचालन हुनेछ । दोस्रो खेल आयोजक खुवाफोक युनाइटेड क्लव र सिसिडिआइसी मौनावुधुक वीच हुनेछ । आयोजक टिम गतसंस्करणको उपविजेता टिम हो ।
प्रतियोगितामा आयोजक सहित ८ टिमको सहभागिता छ । वैशाख २५ र २६ गते क्वाटर फाइनलका खेलहरु संचालन हुनेछन् । भने वैशाख २७ गते सेमिफाइनलका दुई खेल संचालन हुनेछ । सेमिफाइनलका विजेता टिम उपाधीको लागि वैशाख २८ गते सम्पन्न हुने फाइनल खेलमा प्रतिस्पर्धा गर्नेछन् ।
खुवाफोक खेलकुद विकास समितिको आयोजना तथा खुवाफोक युनाईटेड फुटवल क्लवको व्यवस्थापनमा प्रतियोगिता आयोजना हुन लागेको हो ।
खुवाफोक खेल मैदानमा आयोजना हुने प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार १ सय ११ रुपैया र ट्रफी प्राप्त गर्नेछ । भने उपविजेता टिमले नगद ६० हजार ६ सय ६६ रुपैया र ट्रफी प्राप्त गर्ने आयोजक खुवाफोक खेलकुद विकास समितिका अध्यक्ष सुमन लिम्बूले बताए । उनका अनुसार तेस्रो संस्करणमा पुरस्कार राशी वृद्धि गरिएको हो । गतसंस्करणको विजेताले नगद ८० हजार र उपविजेताले ४० हजार प्राप्त गरेका थिए ।
हरेक खेलमा म्यान अफ दी म्याच पुरस्कारको व्यवस्था गरिएको छ । त्यस्तै सर्वोत्कृष्ट सहित विधागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुलाई नगद सहित पुरस्कारको व्यवस्था गरिएको छ ।
प्रतियोगिताको प्रत्यक्ष प्रशारण मेरो गन्तव्य फेसवुक पेजले गर्नेछ ।