हरिबहादुर लम्जेल
धनकुटा l नेपाल सुपर लिग खेलेको वुटवल लुम्विनी फुटवल क्लवलाई टाईब्रेकरमा ५–४ गोलअन्तरले पराजित गर्दै इटहरीको राष्ट्रिय जागृति क्लव धनकुटामा जारी १६ औं संस्करणको सहिद भीमनारायण गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौंमा केही महिना अघि सम्पन्न चर्चित नेपाल सुपर लिगमा छैठौं स्थान प्राप्त गरेको वुटवल लुम्विनी टाईब्रेकरमा पराजित हुँदै पहिलो खेलवाटै वाहिरिदा राष्ट्रिय जागृति क्लव भने टाईब्रेकरमा भाग्यमानी सावित वन्यो ।
निर्धारित समय भरिमा दुवै टिमको एक÷एक गोल भएपछि खेल ट्राईवेकरसम्म पुगेको थियो । ट्राइवेकरमा राष्ट्रिय जागृतिको तर्फबाट मिलन राई, सुमित चौधरी, उमेश राई, अशिम राई र प्रवेश दनुवारले गोल गरेका थिए । त्यस्तै वुटवलको तर्फबाट विवेक गुरुङ, अलभिन राई, आयुष घलान र करिम ओमोलगाले मात्रै गोल गर्न सफल भए । भने चन्दन दासको प्रहार गोल पोष्ट माथिबाट वाहिरिएको थियो ।
खेल सुरु भएको १६ औं मिनेटमा उमेश राईले गोल गर्दै जागृतिलाई अग्रता दिलाएका थिए । वुटवलका गोलकिपर सन्तोष महतबाट चलाखीपूर्ण तरिकाले वल खोस्दै उमेशले गोल गरेका थिए ।
पहिलो हाफमा थपिएको अतिरिक्त समयमा वुटवलका विवेक गुरुङले दर्शनीय गोल गरे । डिवक्स एरिया वाहिरवाट उनले प्रहार गरेको वल सोझैं गोलमा परिणत भएको थियो । विपक्षी इटहरीका गोलकिपर विनय श्रेष्ठले रोक्ने कुनै मौका पाएनन् ।
दोस्रो हाफमा दुवै टिमका खेलाडीवाट गोल गर्ने केही अवसर सिर्जना गरेपनि सदुप्रयोग गर्न सकेनन् । पछिल्लो सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्चव्वाइज युनाइटेड क्लवबाट खेलिसकेका मिलन राई लगायत केही खेलाडीहरुले केही राम्रा अवसर पाएपनि गोल गर्नबाट चुके ।
त्यस्तै वुटवल लुम्विनीले पनि नेपालको राष्ट्रिय टोलीबाट खेलिसकेका आयुष घलान सहित ए डिभिजन लिग खेलिसकेका खेलाडीहरुको साथ मैदान उत्रिएको थियो । आयुषले पनि पाएका केही अवसरमा गोल गर्न सकेनन् ।
आज सम्पन्न खेलको म्यान अफ दी म्याच जागृतिका उमेश राई घोषित हुँदै ५ हजार ५ रुपैया प्राप्त गरे । भोलिको खेल सलहेश फुटवल क्लव सिराहा र आयोजक वीच हुने आयोजक समितिका महासचिव रोशन श्रेष्ठले बताए ।
सहिद भीमनारायण स्मृति प्रतिष्ठानको आयोजनामा सुरु भएकोे गोल्डकपको विजेताले नगद ५ लाख रुपैया सहित ट्रफी र उपविजेताले नगद २ लाख ५० हजार रुपैया प्राप्त गर्ने छ । त्यस्तै विधागत तर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई नगद पुरस्कारको व्यवस्था गरिएको प्रतियोगिताको संयोजक शम्भु प्रधानले बताए ।
आगामी वैशाख २९ गते सम्म संचालन हुने गोल्डकपमा ८ टिमको सहभागिता रहेको छ । २०५५ सालमा स्थापित गोल्डकप सुरुका दुई वर्ष नियमित रूपमा सञ्चालन भएको थियो । त्यसपछि देशको तत्कालीन असहज परिस्थतिका कारण सञ्चालन हुन सकेन । २०६३ सालपछि गोल्पडकप बर्सेनि सञ्चालन हुँदै आइरहेको छ । नेपाल कांग्रेसका नेता सहिद भीमनारायण श्रेष्ठलाई विराटनगरमा राजा विरेन्द्रलाई बम हानेको आरोपमा पक्राउ गरी २०३५ सालमा तत्कालीन सरकारले गोली हानी हत्या गरेको थियो। उनलाई तत्कालीन सरकारले २०७३ सालमा राष्ट्रिय सहिद घोषणा गरेको थियो ।