धनकुटा l धनकुटामा जारि १६ औं संस्करणको सहिद भीमनारायण गोल्डकप अन्र्तगत आज आयोजक धनकुटा र सलहेश क्लव सिरहा वीच प्रतिस्पर्धा हुँदैछ ।
धनकुटा सदरमुकामस्थित तल्लो टुँडिखेलमा दिउँसो ३ बजेदेखि खेल सुरु हुनेछ । आजको खेल सँगै सेमिफाइनल समिकरण पुरा हुनेछ । सेमिफाइनल पुग्ने अन्तिम टोलीको टुंगो लाग्नेछ । यस भन्दा अघि विभागीय टिम एपिएफ, झापाको विर्तामोड युनाइटेड क्लव र इटहरीको राष्ट्रिय जागृति क्लवले सेमिफाइनलमा स्थान वनाइसकेका छन् ।
सहिद भीमनारायण स्मृति प्रतिष्ठानको आयोजनामा सुरु भएकोे गोल्डकपको विजेताले नगद ५ लाख रुपैया सहित ट्रफी र उपविजेताले नगद २ लाख ५० हजार रुपैया प्राप्त गर्ने छ । आगामी वैशाख २९ गते सम्म संचालन हुने गोल्डकपमा ८ टिमको सहभागिता रहेको छ ।
२०५५ सालमा स्थापित गोल्डकप सुरुका दुई वर्ष नियमित रूपमा सञ्चालन भएको थियो । त्यसपछि देशको तत्कालीन असहज परिस्थतिका कारण सञ्चालन हुन सकेन । २०६३ सालपछि गोल्पडकप बर्सेनि सञ्चालन हुँदै आइरहेको छ । नेपाल कांग्रेसका नेता सहिद भीमनारायण श्रेष्ठलाई विराटनगरमा राजा विरेन्द्रलाई बम हानेको आरोपमा पक्राउ गरी २०३५ सालमा तत्कालीन सरकारले गोली हानी हत्या गरेको थियो। उनलाई तत्कालीन सरकारले २०७३ सालमा राष्ट्रिय सहिद घोषणा गरेको थियो ।