धनकुटा । साँगुरीगढी गाउँपालिका वडा नं. ३ फाक्सिवमा आगामी जेठ १८ गतेदेखि पाँचौं संस्करणको फाक्सिव गोल्डकप फुटवल प्रतियोगिता हुने भएको छ । फाक्सिव फुटवल क्लवको आयोजनामा आगामी जेठ १८ देखि २१ गतेसम्म पाँचौं फाक्सिव गोल्डकप फुटवल प्रतियोगिता आयोजना हुन लागेको हो ।
फाक्सिव खेल मैदानमा आयोजना हुने प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार १ सय ११ रुपैया र ट्रफी प्राप्त गर्नेछ । भने उपविजेता टिमले नगद ६० हजार ६ सय ६६ रुपैया र ट्रफी प्राप्त गर्ने आयोजक फाक्सिव फुटवल क्लवका अध्यक्ष पुजन लिम्बूले बताए । उनका अनुसार गतसंस्करण भन्दा यो संस्करणमा पुरस्कार राशिमा केही रकम थप गरिएको छ । गतसंस्करणको विजेताले नगद १ लाख रुपैया र उपविजेताले ५० हजार रुपैया प्राप्त गरेका थिए । हरेक खेलमा म्यान अफ दी म्याच पुरस्कारको व्यवस्था गरिएको छ । त्यस्तै सर्वोत्कृष्ट सहित विधागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुलाई नगद सहित पुरस्कारको व्यवस्था गरिएको छ ।
प्रतियोगितामा ८ टिमको सहभागिता रहनेछ । प्रतियोगितालाई भव्य रुपमा संचालन गर्न तयारी सुरु गरिएको छ ।
गतवर्ष सम्पन्न चौथो संस्करणको उपाधी डाँडाबजार फुटवल क्लवले जितेको थियो । हात्तिटार स्पोटिङ क्लवलाई ६–१ गोलअन्तरले पराजित गर्दै डाँडाबजार फुटवल क्लवले उपाधी जितेको हो ।
खेलको प्रत्यक्ष प्रशारण मेरो गन्तव्य फेसवुक पेजले गर्नेछ ।