हरिबहादुर लम्जेल
धनकुटा l घरेलु दर्शकको भरपुर साथ र घरेलु मैदानको फाइदा उठाउँदै आयोजक टीमले धनकुटामा जारी १६ औं संस्करणको सहिद भीमनारायण गोल्डकप अन्र्तगत वुधवारको खेलमा सिरहाको सलहेश क्लव माथि १–० को जित निकालेको छ ।
धनकुटा सदरमुकामस्थित तल्लो टुँडिखेलमा सम्पन्न खेलमा आयोजकको जितमा एक मात्र निर्णायक गोल खमिर गिल्सन कन्दङ्वाले खेलको ६६ औं मिनेटमा गरेका थिए । विपक्षी टिमका डिफेन्डर र गोलकिपरको आपसी तालमेल नमिलेको अवस्थामा कप्तान वुद्ध चेम्जोङले कर्नरवाट उपलब्ध गराएको पासलाई सदुप्रयोग गर्दै खमिरले चलाखीपूर्ण तरिकाले गोल गरेका थिए । उनले गरेको गोल जितको लागि निर्णायक सावित वन्यो ।
आजको खेल जित्दै आयोजक धनकुटा सेमिफाइनल प्रवेश गरेको छ । फाइनल प्रवेशका लागि आयोजक धनकुटाले आगामी वैशाख २८ गते झापाको विर्तामोड युनाइटेड क्लवसँग प्रतिस्पर्धा गर्नेछ ।
यो संस्करणको उपाधी जित्ने लक्ष्य आयोजकको छ । राष्ट्रिय टोली र ए डिभिजन लिग खेलिसकेका खेलाडीहरुलाई समेटेर आयोजकले टिम वनाएको हो । खेलको सुरुवात देखि नै आयोजकले विपक्षी सलहेशलाई दवावमा राखेको थियो ।
ए डिभिजन क्लव मछिन्द्र फुटवल क्लवमा आवद्ध गोलकिपर प्रदिप वुढाथोकीले आयोजकको जितमा उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले विपक्षी टिमको पेनाल्टी प्रहार मात्र जोगाएनन् । दर्जनौं प्रहारलाई विफल तुल्याइदिएका थिए । उनी खेलको म्यान अफ दी म्याच घोषित भए । नगद ५ हजार ५ सय रुपैया र ट्रफी प्राप्त गरे ।
गोल्डकपमा पहिलो पटक सहभागी वनेको सलहेशले पाएको पेनाल्टी अवसरलाई सदुप्रयोग गर्न नसक्दा हारको कारण वन्यो । खेलको ५८ औं मिनेटमा सलहेशले पेनाल्टीको अवसर पाएको थियो । डिवक्स एरिया भित्र आयोजक टिमका डिफेन्डर विशाल घलानको हातमा वल लागेपछि रेफ्रिले सलहेशलाई पेनाल्टीको अवसर दिएको थियो । पेनाल्टी प्रहारमा सलहेशका फागुराम थारु गोल गर्न चुके । उनको प्रहार विपक्षी टिमका गोलकिपर प्रदिप भण्डारीले बचाए । रिवाउण्ड वलमा समेत प्रदिपले उत्कृष्ट वचाउ गरे ।
आयोजक टिमले ए डिभिजन लिगको अनुभव वटुलेका धनकुटेली खेलाडी वुद्ध चेम्जोङको कप्तानीमा विशाल भण्डारी, सुनिल खड्का, शिशिर लेखी, खमिर गिल्सन कन्दङ्वा, पदम भट्टराई, राम वाजी, छिरिङ गुरुङ, विशाल घलान र अशोक खवासलाई मैदानमा उतारेको थियो ।
सलहेशका प्रशिक्षक राजीव यादवले सायद पेनाल्टीमा गोल भएको भए खेलले अर्कै मोड लिने बताए । ‘खेलाडीले सोचे अनुरुप प्रदर्शन गरे पनि पाएको अवसरलाई सदुप्रयोग गर्न नसक्दा खेल हार्नु प¥यो’ उनले भने ‘पेनाल्टीमा गोल गर्न नसक्दा कहाँ जित्न सकिन्छ र ?’
यता आयोजक टिमका म्यानेजर सुदिप उराउले खेलाडीले सोचे अनुरुप प्रदर्शन गर्दा जित हासिल भएको बताए । हामी उपाधी जित्ने लक्ष्यमा छौं । सुरुवाती देखि नै विपक्षीलाई दवावमा राखेपछि गोल स्कोर निस्कन सकेन । आगामी दिनमा टिमको प्रदर्शनलाई अझ सुधार्ने उनले बताए ।
फाइनल प्रवेशका लागि भोली विहिवार विभागीय टोली एपिएफ र इटहरीको राष्ट्रिय जागृति क्लव वीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै आयोजक धनकुटाले वैशाख २८ गते विर्तामोड युनाइटेड क्लवसँग प्रतिस्पर्धा गर्नेछ ।
सहिद भीमनारायण स्मृति प्रतिष्ठानको आयोजनामा सुरु भएकोे गोल्डकपको विजेताले नगद ५ लाख रुपैया सहित ट्रफी र उपविजेताले नगद २ लाख ५० हजार रुपैया प्राप्त गर्ने छ । आगामी वैशाख २९ गते सम्म संचालन हुने गोल्डकपमा ८ टिमको सहभागिता रहेको छ ।
२०५५ सालमा स्थापित गोल्डकप सुरुका दुई वर्ष नियमित रूपमा सञ्चालन भएको थियो । त्यसपछि देशको तत्कालीन असहज परिस्थतिका कारण सञ्चालन हुन सकेन । २०६३ सालपछि गोल्पडकप बर्सेनि सञ्चालन हुँदै आइरहेको छ । नेपाल कांग्रेसका नेता सहिद भीमनारायण श्रेष्ठलाई विराटनगरमा राजा विरेन्द्रलाई बम हानेको आरोपमा पक्राउ गरी २०३५ सालमा तत्कालीन सरकारले गोली हानी हत्या गरेको थियो। उनलाई तत्कालीन सरकारले २०७३ सालमा राष्ट्रिय सहिद घोषणा गरेको थियो ।