हरिबहादुर लम्जेल
धनकुटा । १६ औं संस्करणको सहिद भीमनारायण गोल्डकपको उपाधी झापाको विर्तामोड युनाइटेड क्लवले जितेको छ । धनकुटा सदरमुकामस्थित तल्लो टुँडिखेलमा सम्पन्न फाइनल खेलमा विभागीय टोली एपिएफलाई शुन्यका विरुद्ध तीन गोलले पराजित गर्दै झापाले उपाधी जितेको हो । उपाधीसँगै झापाले नगद ५ लाख रुपैया सहित ट्रफी प्राप्त गरेको छ । भने उपविजेता वनेको एपिएफले नगद २ लाख ५० हजार र ट्रफीमा चित्त वुझाएको छ ।
झापाको जितमा आशिष चापागाई, अभिषेक गुरुङ र देवेन्द्र तामाङले गोल गरेका थिए ।
खेलकाे पहिलाे हाफ गोलरहित वरावरीमा सकिएको थियो । दोस्रो हाफमा झापाले एपिएफ माथि ३ गोल गरेको थियो । खेलको ५१ औं मिनेटमा आशिष चापागाईंले गोल गर्दै झापालाई सुरुवाती अग्रता दिलाए । पछिल्लो सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज क्लवबाट खेलेका आशिषले यस प्रतियोगितामा झापाको कप्तानी सम्हालेका थिए । माैसम लिम्वुले दिलाएको पासमा उनले चलाखीपूर्ण तरिकाले गोल गरेका थिए । एपिएफका गोलकिपर एन्जल अगाडि वढेको स्थितिमा र डिफेन्डरहरु वीच तालमेल नमिलेको अवस्थामा उनले गोल गरेका थिए । खेलमा अग्रता लिएपछि झापाले एपिएफलाई दवावमा राख्दै लगातार आक्रमण गरेको थियो ।
खेलको ६७ औं मिनेटमा अभिषेक गुरुङले एक गोल गर्दै झापाको अग्रता दाेब्बर बनाए । आशिष चापागाईंले उपलब्ध गराएको सुन्दर पासलाई सदुप्रयोग गर्दै वान टच मै अभिषेकले गोल गरेका थिए । झापाका डिफेन्डर देवेन्द्र तामाङले ९४ औं मिनेटमा गोल गर्दै आफ्नो टिमको जित सुनिश्चत गरे । प्रशान्त अवस्थीले दिएको लामो पासमा उनले गोल गरेका थिए ।
खेलको अन्त्यतिर एपिएफले पाएको पेनाल्टीलाई सदुप्रयोग गर्न सकेन । झापाका डिफेन्डर देवेन्द्रले डिवक्स एरियाभित्र एपिएफका कप्तान युवराज खड्कालाई लडाएको भन्दै फिफा रेफ्रि श्याम दनुवारले एपिएफलाई पेनाल्टीको अवसर दिए । पेनाल्टीमा एपिएफका सुमन श्रेष्ठले प्रहार गरेको वल झापाका गोलरक्षक सन्दिप लिम्बूले बचाए ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी झापाका कप्तान समेत रहेका आशिष चापागाई घोषित भए । उनले नगद १७ हजार ५ सय ५५ रुपैया सहित ट्रफी प्राप्त गरे । त्यस्तै विधागत तर्फ झापाका सन्दिप लिम्बु उत्कृष्ट गोलकिपर, देवेन्द्र तामाङ उत्कृष्ट डिफेन्डर, अभिषेक गुरुङ उत्कृष्ट स्टाइकर, उत्कृष्ट प्रशिक्षक योगेश गुरुङ घोषित भए । एपिएफका वुद्धिमान राई उत्कृष्ट मिडफिल्डर घोषित भए । उनीहरुले जनही ७ हजार ५ सय ५५ रुपैया र ट्रफी प्राप्त गरे । फाइनल खेलको म्यान अफ दी म्याच एपिएफका प्रदिप लामा घोषित हुँदै ५ हजार ५ रुपैया प्राप्त गरे ।
कार्यक्रमका प्रमुख अतिथि धनकुटा नगर प्रमुख चिन्तन तामाङ सहितका अतिथिहरुले पुरस्कार वितरण गरेका थिए । सहिद भीमनारायण स्मृति प्रतिष्ठानको आयोजनामा सुरु भएको प्रतियोगितामा ८ टिमको सहभागिता रहेको थियो । २०५५ सालमा स्थापित गोल्डकप सुरुका दुई वर्ष नियमित रूपमा सञ्चालन भएको थियो । त्यसपछि देशको तत्कालीन असहज परिस्थतिका कारण सञ्चालन हुन सकेन । २०६३ सालपछि गोल्पडकप बर्सेनि सञ्चालन हुँदै आइरहेको छ । नेपाल कांग्रेसका नेता सहिद भीमनारायण श्रेष्ठलाई विराटनगरमा राजा विरेन्द्रलाई बम हानेको आरोपमा पक्राउ गरी २०३५ सालमा तत्कालीन सरकारले गोली हानी हत्या गरेको थियो । उनलाई तत्कालीन सरकारले २०७३ सालमा राष्ट्रिय सहिद घोषणा गरेको थियो ।