हरिबहादुर लम्जेल
धनकुटा l घरेलु फुटवलमा खेलाडीको रुपमा चर्चित नाम हो, योगेश गुरुङ । ए डिभिजनका विभिन्न क्लववाट उनले व्यवसायिक रुपमा फुटवल खेलेका छन् । हरेक वर्ष धनकुटामा आयोजक हुने सहिद भीमनारायण गोल्डकपमा उनी खेलाडीको रुपमा खेल्दै आइरहेका छन् । कहिले झापा ११, कहिले विर्तामोड युनाइटेड क्लववाट सहिद भीमनारायण गोल्डकपमा सहभागिता जनाएका छन् । पछिल्लो एक डिभिजन लिगमा उनी चर्च ब्वाइज युनाइटेडबाट खेलेका थिए । चर्चब्वाइजले ए डिभिजन लिग समेत जितेको थियो ।
खेलाडीको रुपमा परिचित योगेश १६ औं संस्करणको सहिद भीमनारायण गोल्डकपमा झापाको विर्तामोड युनाइटेड क्लवको प्रशिक्षकको रुपमा सहभागिता जनाए । उनले प्रशिक्षण गरेको पहिलो टिम हो । पहिलो प्रशिक्षणमै विर्तामोड युनाइटेड क्लवलाई उपाधी जिताउन सफल भए । झापाले आज सम्पन्न फाइनल खेलमा विभागीय टोली एपिएफलाई ३–० गोलअन्तरले पराजित गर्दै उपाधी जितेको थियो । योगेश प्रतियोगितामा उत्कृष्ट प्रशिक्षक घोषित भए ।
प्रशिक्षकको रुपमा उपाधी जित्दा धेरै खुसी लागेको उनले बताए । यहाँको मैदानसँग म धेरै परिचित छु । जसको कारण रणनीति बनाउन सहज भयो । खेलाडीहरुले सोही अनुसार खेल्दा उपाधी जित्न सहज भएको उनले बताए । आगामी दिनमा नेपाली फुटवलमा प्रशिक्षकको भूमिका रहने उनको योजना छ ।