हरिबहादुर लम्जेल
धनकुटा । राजारानीमा जारी ११ औं गोर्खा रारा गोल्डकप फुटवल प्रतियोगितामा साविक विजेता सलहेश फुटवल क्लव सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतवार पुण्य उच्च माध्यमिक विद्यालयको खेलमैदानमा सम्पन्न प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेलमा सुनसरीको गोल्डेन स्टार युथ क्लवलाई २–१ गोलअन्तरले पराजित गर्दै सिरहाको सलहेश क्लव सेमिफाइनलमा प्रवेश गरेको हो ।
सलहेश क्लव १० औं संस्करणको रारा गोल्डकपको विजेता समेत हो । खेलको ८ औं मिनेटमा अरमण्डले गोल गर्दै सलहेशलाई सुरुवाती अग्रता दिलाएका थिए । विपक्षीको फितलो रक्षापंतिको फाइदा उठाउँदै अरमण्डले सहज रुपमा गोल गरेका थिए ।
तर एक गोलले पछि परेको ८ मिनेट वित्न नपाउँदै गोल्डेन स्टारका कृपा चौधरीले फ्रिकिक मार्फत सुन्दर गोल गदै खेललाई वरावरीमा ल्याए । सलहेशका डिफेन्डरले गोल्डेन स्टारका वुद्धिमान राईलाई फल गरेपछि रेफि श्याम दनुवारले गोल्डेन स्टारलाई फ्रिकिकको
अवसर दिएको थियो । फ्रिकिकमा उनले सुन्दर गोल गर्दै खेललाई वरावरीमा ल्याउन सफल भएका थिए । खेलको अन्त्य तिर ८२ औं मिनेटमा आदित्य शाक्यले गोल गर्दै सलहेशको जित सुनिश्चित गरे ।
खेलको म्यान अफ द म्याच विजेता टिम सलहेशका जय गुरुङ घोषित भए । उनले नगद ७ हजार रुपैया सहित ट्रफी प्राप्त गरे ।
आजको खेलसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ ।
भोली देखि सेमिफाइनलको खेल सुरु हुनेछ । भोलि जेठ १४ गते सोमबारको पहिलो सेमिफाइनल खेल डाँगीहाट युथ क्लब, मोरङ्ग र आयोजक रारा फुटबल क्लब, राजारानी वीच हुनेछ ।
रारा फुटबल क्लब, राजारानी, धनकुटाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल जेठ १६ गतेका दिन हुनेछ ।