धनकुटा । साँगुुरीगढी गाउँपालिका वडा नं. ४ फाक्सिवमा जारी पाँचौ फाक्सिव गोल्डकप फुटवल प्रतियोगिता अन्र्तगत शनिवार सम्पन्न खेलमा संजीवनी एफसी माथि फराकिलो जित हासिल गर्दै सिजनशील एफसी सेमिफाइनल प्रवेश गरेको छ ।
फाक्सिव खेल मैदानमा शनिवार सम्पन्न पहिलो खेलमा सिर्जनशीलले संजीवनी एफसी माथि ६–१ गोलअन्तरले पराजित गरेको हो । सिर्जनशीलको जितमा कप्तान समेत रहेका विवेक राईले ३ गोल गर्दै ह्याट्रिक पुरा गरे । मिलन राईले २ तथा शिशिर लेखीले १ गोल गरेका थिए । संजीवनीका लागि एक मात्र सान्त्वना गोल विनोद राईले गरेका थिए ।
सहिद स्मारक ए डिभिजन लिगमा विभिन्न क्लववाट खेलिसकेका खेलाडीहरु सम्मिलित सिर्जनशीलले संजीवनी माथि एक पक्षिय जित निकाल्न सफल भएको हो ।
खेलको सुरुवातमा नै विनोद राईले गोल गर्दै संजीवनीलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो गोल खाएको केही समय वित्न नपाउँदै सिर्जनशीलका मिलन राईले गोल गर्दै खेललाई वरावरीमा ल्याए । त्यसपछि संजीवनीलाई दवावमा राख्दै सिर्जनशीलले लगातार गोल गरेको थियो । आज खेलको म्यान अफ द म्याच सिर्जनशीलका मिलन राई घोषित हुँदै नगद २ हजार रुपैया प्राप्त गरे ।
आयोजक र छथरजोरपाटी वीचको खेल वर्षाले प्रभावित
त्यस्तै आजै सम्पन्न आयोजक फाक्सिव एफसी र छथरजोरपाटी एफसी वीचको दोस्रो खेल वर्षाले प्रभावित वनेको छ । खेलको पहिलो हाफ सकिएपछि दोस्रो हाफ संचालन हुन लाग्दा हावाहुण्डरी सँगै आएको वर्षाले खेल प्रभावित वनेको हो । दोस्रो हाफको खेल स्थगित गरिएको छ । यी दुई टिम वीचको दोस्रो हाफको खेल भोली आइतवार विहान १० बजे खेल हुने आयोजक समितिका अध्यक्ष पुजन आङ्ला लिम्बूले बताए । पहिलो हाफ सम्पन्न भइसक्दा छथरजोरपाटी माथि आयोजकले १–० को अग्रता लिएको छ । फाक्सिवका लागि सागर लिम्बूले गोल गरेका थिए ।
फाइनल प्रवेशका लागि सिर्जनशील र पंचायन वीच प्रतिस्पर्धा हुने ः
प्रतियोगिताको फाइनल प्रवेशका लागि सिर्जनशील एफसी र पंचायन एफसी वीच प्रतिस्पर्धा हुने भएको छ । सेमिफाइनलको पहिलो खेल भोली दिउँसो १ बजे संचालन हुनेछ । त्यस्तै आयोजक र छथरजोरपाटी एफसी वीचको विजेताले फाइनल प्रवेशका लागि भोलि नै दिउँसो ३ बजे खुवाफोक युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिताको फाइनल खेल २१ गते सोमवार हुने छ ।
खेलकुद तथा साँस्कृतिक विकास महोत्सव संचालन समितिको आयोजनामा तथा फाक्सिव फुटवल क्लवको व्यवस्थापनमा सुरु भएको प्रतियोगितामा आयोजक सहित ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार १ सय ११ रुपैया, ट्रफी र उपविजेता टिमले ६० हजार ६ सय ६६ रुपैया सहित ट्रफी प्राप्त गर्नेछ । प्रतियोगिताको सहयोगीको रुपमा साँगुरीगढी गाउँपालिका र ४ नं. वडा कार्यालय रहेको छ ।