धनकुटा । साँगुुरीगढी गाउँपालिका वडा नं. ४ फाक्सिवमा जारी पाँचौ फाक्सिव गोल्डकप फुटवल प्रतियोगिताको उपाधीका लागि सुनसरीको पंचायन एफसी र धनकुटाको छथरजोरपाटी एफसी वीच प्रतिस्पर्धा हुने भएको छ ।
आइतवार सम्पन्न सेमिफाइनल खेलमा विजयी हुँदै यी दुई टिमले फाइनलमा भेट पक्का गरेका हुन् । फाइनल खेल भोलि सोमवार हुनेछ ।
आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा सिर्जनशील एफसी माथि २–० गोलअन्तरले विजयी हुँदै पंचायन एफसीले फाइनलमा स्थानमा सुरक्षित गरेको थियो । पंचायनको जितमा योगेन कार्की र सन्दिप लिम्बूले एक÷एक गोल गरेका थिए । खेलको म्यान अफ दी म्याच पंचायनका सागर तिवारी घोषित भए । उनले नगद २ हजार रुपैया प्राप्त गरे । ए डिभिजन क्लव र राष्ट्रिय टिमबाट खेलिसकेका खेलाडी सहित मैदान उत्रिएको सिजर्नशीलले पंचायत विरुद्ध अपेक्षित प्रदर्शन गर्न सकेन । जसको कारण सिर्जनशील एफसी प्रतियोगिताको सेमिफाइनलवाटै वाहिरिन पुग्यो ।
त्यस्तै आजै सम्पन्न दोस्रो सेमिफाइनल खेलमा खुवाफोक युनाइटेड क्लव माथि २–० गोलको जित निकाल्दै छथरजोरपाटी एफसीले पनि फाइनलमा स्थान बनायो । छथरजोरपाटी एफसीको जितमा सुदिप लिम्बू र इन्द्र लिम्बूले गोल गरेका थिए ।
हिजो वर्षा सहित आएको हावा हुण्डरीले खेल प्रभावित भएपछि आयोजक फाक्सिव एफसी र छथरजोरपाटी एफसी वीचको क्वाटरफाइनलको दोस्रो हाफको खेल आज खेलाइएको थियो । निर्धारित समय भरिका दुवै टिमको एक÷एक गोलको वरावरीमा सम्पन्न भएपछि खेलको निर्णय टाईब्रेकरवाट लिइएको थियो । टाईब्रेकरमा आयोजक फाक्सिव एफसी छथरजोरपाटी एफसीसँग ५–४ गोलअन्तरले पराजित वनेको थियो ।
खेलकुद तथा साँस्कृतिक विकास महोत्सव संचालन समितिको आयोजनामा तथा फाक्सिव फुटवल क्लवको व्यवस्थापनमा सुरु भएको प्रतियोगितामा आयोजक सहित ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार १ सय ११ रुपैया, ट्रफी र उपविजेता टिमले ६० हजार ६ सय ६६ रुपैया सहित ट्रफी प्राप्त गर्नेछ । प्रतियोगिताको सहयोगीको रुपमा साँगुरीगढी गाउँपालिका र ४ नं. वडा कार्यालय रहेको छ ।
खेलको प्रत्यक्ष प्रशारण मेरो गन्तव्य फेसवुक पेजले गरिरहेको छ ।