धनकुटा । धनकुटा सदरमुकाममा आजदेखि चौथो संस्करणको सहिद रामकृष्ण श्रेष्ठ कोशी प्रदेश स्तरीय अन्तरपालिका महिला फुटवल प्रतियोगिता सुरु भएको छ ।
सहिद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठानको आयोजनामा धनकुटा सदरमुकामस्थित तल्लो टुँडिखेलमा उक्त प्रतियोगिता सुरु भएको हो ।
आज सम्पन्न उद्घाटन खेलमा सुनसरीको वराहक्षेत्र नगर खेलकुद विकास समितिलाई टाइब्रेकरमा १–० गोलअन्तरले पराजित गर्दै धनकुटाको छथरजोरपाटी गाउँपालिका सेमिफाइनलमा प्रवेश गरेको छ ।
दुवै टिमबाट गोल हुन नसकेपछि निर्धारित समय गोलरहित वरावरीमा टुंगिएको थियो । त्यसपछि खेलको निर्णय टाईब्रेकरवाट लिइएको थियो । टाइब्रेकरमा छथरजोरपाटीको तर्फबाट सुनिल लिम्बूले मात्र गोल गर्न सफल भइन् । खेलको वुमन अफ द म्याच छथरजोरपाटीकी गोलकिपर कमला श्रेष्ठ घोषित हुँदै नगद १ हजार ५ सय रुपैया प्राप्त गरिन् ।
प्रतियोगिता अन्र्तगत भोली दुई खेल संचालन हुनेछ । पहिलो खेल धनकुटाको सहिदभूमि गाउँपालिका र मोरङको मिक्लाजुङ गाउँपालिका मधुमल्लाको टिम वीच हुनेछ । भने दोस्रो खेलमा धनकुटा नगरपालिका र पाख्रिवास नगरपालिका वीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा धनकुटाका सात मध्ये पाँच स्थानीय तहका, झापा, मोरङ र सुनसरीबाट एक÷एक टिम गरी कुल ८ टिमको सहभागिता छ । फाइनल खेल आगामी जेठ २४ गते हुनेछ । प्रतियोगिताको विजेताले नगद १ लाख रुपैया सहित ट्रफी र उपविजेता टिमले नगद ५० हजार रुपैया सहित ट्रफी प्राप्त गर्नेछ ।
हरेक खेलमा वुमन अफ द म्याच र विधागत रुपमा उत्कृष्ट हुने खेलाडीलाई पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताको समुद्घाटन प्रमुख अतिथि कोशी प्रदेशकी राज्यमन्त्री सिर्जना राईले गरेकी थिइन् ।