हरिबहादुर लम्जेल
धनकुटा । पाँचौ संस्करणको फाक्सिव गोल्डकपको उपाधी छथरजोरपाटी एफसीले जितेको छ । साँगुरीगढी गाउँपालिका वडा नं. ४ स्थित फाक्सिव खेलमैदानमा सोमवार सम्पन्न फाइनल खेलमा सुनसरीको पंचायन एफसीलाई टाईब्रेकरमा ४–३ गोलअन्तरले पराजित गर्दै छथरजोरपाटी एफसीले पाँचौं संस्करणको फाक्सिव गोल्डकपको उपाधी जितेको हो ।
उपाधीसँगै छथरजोरपाटीले नगद १ लाख १ हजार १ सय ११ रुपैया र ट्रफी प्राप्त गरेको छ । भने उपविजेता वनेको पंचायनले नगद ६० हजार ६ सय ६६ र ट्रफीमा चित्त वुझायो ।
निर्धारित समयभित्र दुवै टिमबाट गोल हुन नसकेपछि गोलरहित वरावरीमा टुंगिएको थियो । त्यसपछि खेलको निर्णय टाईब्रेकरवाट लिइएको थियो । टाइब्रेकरमा छथरजोरपाटीले वाजी मार्न सफल भयो ।
प्रतियोगिताको विजेता तथा उपविजेता टिमका खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश फुटवल संघका उपाध्यक्ष मणिकुमार चेम्जोङ, छथरजोरपाटी गाउँपालिका अध्यक्ष छत्रवहादुर सुब्बा, साँगुरीगढी गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष जीवनकुमार लिम्बू लगायतले पुरस्कार वितरण गरेका थिए । समापन कार्यक्रमको अध्यक्षता फाक्सिव फुटवल क्लवका अध्यक्ष पुजन आङ्ला लिम्बूले गरेका थिए ।
खेलकुद तथा साँस्कृतिक विकास महोत्सव संचालन समितिको आयोजनामा तथा फाक्सिव फुटवल क्लवको व्यवस्थापनमा सुरु भएको प्रतियोगितामा आयोजक सहित ८ टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको सहयोगीको रुपमा साँगुरीगढी गाउँपालिका र ४ नं. वडा कार्यालय रहेको छ ।
प्रतियोगिताको प्रत्यक्ष प्रशारण मेरो गन्तव्य फेसवुक पेजले गरेको थियो ।