धनकुटा । धनकुटा सदरमुकाममा जारी चौथो संस्करणको सहिद रामकृष्ण श्रेष्ठ कोशी प्रदेश स्तरीय अन्तरपालिका महिला फुटवल प्रतियोगिता अन्तर्गत सोमवार सम्पन्न खेलमा मिक्लाजुङ गाउँपालिका र धनकुटा नगरपालिका विजयी भएका छन् ।
तल्लो टुँडिखेलमा सोमवार सम्पन्न पहिलो खेलमा माेरङको मिक्लाजुङ गाउँपालिकाको टिमले धनकुटाकाे सहिदभूमि गाउँपालिकाको टिमलाई शुन्यका विरुद्ध एक गोलले पराजित गरेको थियो । मिक्लाजुङको जितमा एक मात्र निर्णायक गोल सलिजा राईले गरेकी थिइन् । खेलअवधिभर सहिदभूमिले मिक्लाजुङलाई दवावमा राखेपनि गोलस्कोर गर्न सकेन् । पाएको अवसरलाई सदुप्रयोग गर्न नसक्दा सहिदभूमि पहिलो खेलवाटै वाहिरिन पुग्यो । उक्त खेलको प्लेयर अफ म्याच मिक्लाजुङकी सलिजा घोषित हुँदै नगद १ हजार पाँच सय रुपैया प्राप्त गरिन् । त्यस्तै खेलअवधिभर उत्कृष्ट प्रदर्शन गरेको भन्दै सहिदभूमि गाउँपालिकाकी खेलाडि मनिका राईलाई राष्ट्रिय प्रशिक्षक सुमन श्रेष्ठले नगद १ हजार र भलिवलका राष्ट्रिय रेफ्रि विनय राईले पाँच सय रुपैया प्रोत्साहन स्वरुप प्रदान गरेका थिए ।
त्यस्तै दाेस्रो खेलमा पाख्रिवास नगरपालिकालाई शुन्यका विरुद्ध तीन गाेलले पराजित गर्दै धनकुटा नगरपालिका सेमिफाइनल प्रवेश गरेको छ । धनकुटा नगरपालिकाको जितमा मनिता तामाङले दुई तथा विपना राईले एक गोल गरेका थिए । धनकुटा नगरपालिकाले खेलअवधिभर पाख्रिवास नगरपालिकालाई दवावमा राखेको थियो । खेलको अन्त्यतिर लगातार गोल गर्दै धनकुटा नगरपालिकाले जित सुनिश्चित गरेको थियो । उक्त खेलको प्लेयर अफ द म्याच मनिता तामाङ घोषित हुँदै नगद १ हजार पाँच सय रुपैया प्राप्त गरिन् ।
भोलिको अन्तिम क्वाटरफाइनल खेल धनकुटाको साँगुरीगढी गाउँपालिका र झापाकाे कनकाई नगरपालिका वीच हुनेछ ।
धनकुटा नगरपालिका सहित छथरजोरपाटी गाउँपालिका, मिक्लाजुङ गाउँपालिकाले सेमिफाइनलमा स्थान बनाइसकेका छन् ।
सहिद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठानको आयोनामा सुरु भएको प्रतियोगितामा धनकुटाका सात मध्ये पाँच स्थानीय तहका, झापा, मोरङ र सुनसरीबाट एक/एक टिम गरी कुल ८ टिमको सहभागिता छ ।
फाइनल खेल आगामी जेठ २४ गते हुनेछ । प्रतियोगिताको विजेताले नगद १ लाख रुपैया सहित ट्रफी र उपविजेता टिमले नगद ५० हजार रुपैया सहित ट्रफी प्राप्त गर्नेछ । हरेक खेलमा वुमन अफ द म्याच र विधागत रुपमा उत्कृष्ट हुने खेलाडीलाई पुरस्कारको व्यवस्था गरिएको छ ।