धनकुटा १८ जेष्ठ ।
नेपाली कांग्रेसका केन्द्रिय उपसभापति एवम् पूर्व उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले हिजो नेपाली कांग्रेस पार्टी कार्यालयका पार्टीमा प्रवेश गरेका सामाजिक अभियान्ता तथा शिक्षाबिद् हेमचन्द्र भण्डारीलाई पार्टी सदस्यता प्रदान गरी स्वागत गरेका छन् । सो अवसरमा नेकपा पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका शिक्षाविद् भण्डारीलाई कांग्रेस केन्द्रिय सदस्य तथा अनुशासन समितिका संयोजक भिष्मराज आङदेम्बे, केन्द्रिय सदस्य तथा पूर्वमन्त्री मिन विश्वकर्मा, केन्द्रिय सदस्य तथा सचेतक पुष्पा भुसाल, कांग्रेस धनकुटाका सभापति अग्नीप्रसाद पौडेल, महासमिति सदस्य आनन्दसन्तोषी राई, सचिव विजयसन्तोषी राई, कोषाध्यक्ष दिनेश राईलगायतले टिका अविर तथा खादाँ लगाई स्वागत गरेका थिए ।
सो अवसरमा उपसभापति निधिले नेपाली कांग्रेसले देशमा शान्ति स्थापना गर्दै लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएको जनआन्दोलनको नेतृत्व गरेको स्मरण गराउँदै अहिले जनताले कांग्रेसलाई दिएको प्रतिपक्षको भूमिका जिम्मेवार भएर निर्वाह गर्ने बताए । उनले नेकपाको कुरा र काम फरक भएकाले फरक भएको उल्लेख गर्दै सरकारको यहि नीति लिईरहे देश आर्थिक रुपमा जीर्ण हुने ठोकुवा गरे ।
सो अवसरमा नवप्रवेशी भण्डारीले नेपाली कांग्रेसले लिएको नीति तथा कार्यक्रम एवम् लोकतान्त्रिक विचारधाराबाट आफु प्रभावित भएर पार्टी प्रवेश गरेको बताए । उनले कांग्रेसले नचाहिदो कुरा नगर्ने जे गर्न सक्छ त्यहि बोल्ने भएकोले कांग्रेस प्रवेश गरेको बताउँदै कांग्रेसको इमान्दार कार्यकर्ता भएर पार्टीले दिएको जिम्मेवारी पुरा गर्ने प्रतिवद्धता जाहेर गरे ।
पार्टी प्रवेश कार्यक्रम कांग्रेस जिल्ला सभापति अग्नीप्रसाद पौडेलको अध्यक्षतमा सम्पन्न भएको थियो ।